सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ।

जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो।

“संस्कृतिको जग समाज हो। तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारबिन्दु मानी वैचारिकीकरण गरी सङ्गठित गर्नुपर्छ।”

जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारबिन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताउनुभयो। उहाँले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताउनुभयो।