जीप दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत

मूलखबर संवाददाता
काठमाडौं

सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्ला नजिकै दुर्घटना हुँदा ज्यान जाने चारै जनाको सनाखत भएको छ । भारतबाट रोजगारी गरेर फर्किँदै गरेका यात्रु चढेको बोलेरो जिप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्ला नजिकै दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन कालिकोटका र एक जना दैलेखको रहेको प्रहरीले जनाएको छ।

कालिकोटको शुभकालिका गाउँपालिका-३ तन्त कामी उनका १७ वर्षीय छोरा वीरेन्द्रर २७ वर्षीय नवराज विकको मृत्यु भएको हो। यस्तै दैलेखको भैरवी गाउँपालिका-४ का महिन्द्र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

घाइते हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-३ का नरी कामी र कालिकोटकै खाडाचक्र नगरपालिकाका नरेन्द्र विष्ट छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनीहरुको उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप सडकबाट ३०० मिटर तल खसेको थियो।