बालेनले फाले सडक डिभिजनको अगाडि धुलो, प्रतिकार गर्न बाध्य हुने डिभिजनको चेतावनी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा शनिबार एक ट्रक धुलो र फोहोर फालेपछि डिभिजन कार्यालयले एक विज्ञप्ती जारी गर्दै आक्रोस व्यक्त गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडक डिभिजन कार्यालयको गेटमा शनिबार एक ट्रक धुलो र फोहोर फाल्न लगाए पछि डिभिजन कार्यालयले एक विज्ञप्ती जारी गर्दै आक्रोस व्यक्त गरेको हो । महानगरले शनिबार दिउसो २ बजेतिर बबरमहलस्थित सडक डिभिजन कार्यलयको गेटमा कार्यालय परिसरमा  छिर्न समेत अवरोध हुने गरी मिनी टिपरबाट फोहोर फाल्न लगाएको थियो ।

मेयर बालेनले एक ट्रक धुलो र फोहोर फालेको भिडियो फेसबुकमा राख्दै स्टाटस लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा कलंकीदेखि महाराजगन्जसम्मको रिङरोडको धुलोको हातछ, जसले महानगरवासीले धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। काठमाडौं महानगरले अकारण गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन, जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु। माया सम्झेर स्विकार्नुहोला।

यता सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार विज्ञप्ति जारी गर्दै, महानगरले कानुनी राज्यको उपहास हुने गरी गरिएको बलमिचाइँ र अराजक शैली भएको उल्लेख गरेको छ ।

महानगरको यस्तो व्यवहारले कानुनी राज्यको उपहास गरेको पनि डिभिजन कार्यालयले उल्लेख गरेको छ। सडक डिभिजन काठमाडौंको कार्यक्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए कार्यान्वयन गर्ने, तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने विज्ञप्तिमा उल्लेख छ।

महानगरको यस्तो व्यवहारको प्रतिकार गर्न सडक डिभिजन बाध्य हुने समेत विज्ञप्तिमा चेतावनी दिईएको छ ।