१० महिनामा १० हजार विदेशी नागरिकलाई काम गर्ने अनुमति

मूलखबर संवाददाता
काठमाडौं

नेपालबाट रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेश गइरहेका बेला नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या सामान्य दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति हो ।

यसबाहेक सानो सङ्ख्यामा उच्च दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।

त्यसो त वैदेशिक रोजगार विभागका अनुसार चालु आवको १० महिनामा छ लाख १२ हजार ९१० जना रोजगारीका लागि बिदेसिएका छन् । रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश पठाउने मुलुक आफैँले भने दक्ष जनशक्तिको अभाव झेल्नु परिरहेको छ । सरकारले विगतदेखि नै स्वदेशमा दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।

विभागका निर्देशक मणिनाथ गोपले आवको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताउनुभयो ।