बुद्वजयन्तीमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश – बुद्वका उपदेश र मार्ग अनुसरण गराैं

मूलखबर संवाददाता
काठमाडौं, १० जेठ

आज बुद्ध जयन्ती ।  विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा विश्वभर बुद्वकाे चर्चा परिचर्चा, सम्झना एवम् सम्मान व्यक्त गर्ने गरिन्छ ।

बुद्व जयन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल हुने बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ-  यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

शुभकामना सन्देशकाे पूरा पाठ- 

विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ । साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु ।

नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग महत्वपूर्ण छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् । मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।

अन्त्यमा, २५६८औं बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भातृत्व भावनालाई आत्मसात गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

मिति : २०८१ जेठ १० गते
नेपाल संवत् ११४४ बछला थ्व, पुन्हि

पुष्पकमल दाहाल ‘प्रचण्ड’