
प्रमुख प्रतिपक्षी कांग्रेसले गैरजिम्मेवारीपन देखायाे : एमाले
सत्तारूढ दल एमालेले संसद अवरुद्घ गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गैरजिम्मेवार दलकाे परिचय दिएको बताएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नभई कांग्रेसले सरकार मागेको टिप्पणी गरेका छन्। यद्यपि, प्रमुख प्रतिपक्षीसँग संवाद गर्न सरकार तयार रहेको उनले बताए।
प्रतिनिधिसभाको साेमबारको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्।
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसप्रति लक्षित गर्दै बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्।
‘कांग्रेसले संसदीय छानबिन समिति मागेको होइन । समितिको नामबाट सरकार मागेको हो,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘उसको आजको व्यवहारबाट चरित्र उदांगो भएको छ ।’
प्रतिनिधिसभाको आजको बैठकमा पनि कांग्रेसका सांसदले वेल घेर्दै नाराबाजी गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची रहेको बैठकमा समेत कांग्रेसले लगातार नाराबाजी गर्दै अवरोध पुर्याएको थियो।
