ट्राफिक युवराजको हत्या आरोपमा संलग्न ७ जना सार्वजनिक, केटी साथीलाई ‘आँखा झिम्क्याएको’ निहुँ
दरबारमार्गमा कार्यरत् ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा नाबालकसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले हत्यामा संलग्न ७ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले ४ जनालाई तारकेश्वर जंगलमा सुतिरहेको अवस्थामा फेला पारेको थियो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नागरपालिका हाल मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरू आश्रय लिई बस्ने २१ वर्षीय आइते भनिने सचिन परियार, चागुनारायणकै १८ वर्षीया अन्जली श्रेष्ठ, स्याङजा आँधीखोला गाउँपालिका घर भई मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरुमा आश्रय लिई बस्ने २१ वर्षीया विपना भनिने वसन्धुरा कार्की, ५६ वर्षीया नुरमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमित तामाङ र १३ वर्षीय नाबालक छन् ।
खोटाङको मजुवागढी गाउँपालिका १ का ३२ वर्षीय युवराजको शव शंकास्पद अवस्थामा शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा भेटिएको थियो । टोखा नगरपालिका गंगबु गणेशथान बस्ने उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख वसन्त रजौरेका अनुसार घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान तार्केश्वर ११ को एक सानो होटलमा पसेका थिए । सोही क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । घिमिरे र परियारको पुरानो चिनजान अनुसन्धानबाट देखिएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएका थिए ।
‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ ।