संसदमा कांग्रेसले असभ्य व्यवहार देखायाे : ओली

मूलखबर संवाददाता
काठमाडौं, ४ जेठ

सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको बताएका छन् ।

बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औँला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।

अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै काँग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले काँग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको पनि बताए ।

उनले भने, ‘भिडन्त भएन । काँग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’

बिहीबारको बैठकमा सांसद गुरूङले बाेलेकाे शव्दहरू प्रतिनिधि सभाकाे बैठककाे भिडियो रेकर्डमा म्युट गरिएको छ ।