कोशीमा मन्त्रीमण्डल विस्तारहुदै, २ महिला राज्यमन्त्री बन्ने

मूलखबर संवाददाता
काठमाडौं

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार विस्तार गर्दै दश सदस्यीय मन्त्रीमण्डल बनाउने भएका छन् । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार एमालेबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लिलाबल्लभ अधिकारी मन्त्री हुनेछन् । उनीहरूमध्ये मगर यसअघि वैशाख २७ गते नै मन्त्री नियुक्त भइसकेका छन् भने कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबार नियुक्ति पछि शपथ गराउने तयारी भएको छ ।

यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती मन्त्री नियुक्त भइसकेका छन् भने माओवादीबाट थप उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री तथा झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

संविधानको धारा १६८ ९५० अनुसार गत वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका बेला पनि कार्कीले एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए । अहिले पनि उनीहरू दोहोरिने भएका हुन् ।

यसैबिच कुन मन्त्रालयमा को मन्त्री पठाउने भन्ने विषयमा भने अझै टुंगो लाग्न सकेको छैन । उक्त विषयमा सहमति जुटाउन मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच अहिले पनि छलफल जारी छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको लागि बेलुका साढे ४ बजेको समय निर्धारण गरिएको सरकारका प्रवक्ता तथा मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन्।