सभामुखकाे भुमिकामाथि कांग्रेसकाे आपत्ति, यस्तो गर्याे निर्णय

मूलखबर संवाददाता
काठमाडौं, ४ जेठ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको भुमिका निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबारको बैठकमा अवराेधका बीच सभामुखले बैठक जारी राखेकाे भन्दै रणनीति तयार गर्न शुक्रबार विहान बसेकाे कांग्रेस बैठकले साे निष्कर्ष निकालेकाे हाे ।

बैठकले सरकार र सत्ता पक्षलाई जनहित बिरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय पनि गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउादा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ ।

संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ’ बैठकपछ प्रमुख सचेतक लेखकले भने ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए ।