लुम्बिनीमा विदेशी कूटनीतिज्ञ धमाधम आउदैं, पर्यटन प्रबर्द्धनमा सहयोग

मूलखबर संवाददाता
काठमाडौं

पछिल्लो समय गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी कूटनीतिज्ञहरू धमाधम आउन सुरु गरेका छन्।

नेपालस्थित विदेशी नियोगका पदाधिकारी धमाधम लुम्बिनी आइरहेका छन् । गत शुक्रबारमात्रै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले लुम्बिनी भ्रमण गरेका छन्। केही दिनमै नेपालका लागि बेलायती राजदूत लुम्बिनी आउने योजना रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

चैत ८ र ९ गते विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका महावाणिज्यदूत र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ति र समृद्धिका लागि एकताबद्ध रहेको सन्देश दिएका थिए ।

3

कार्तिक १४ गते संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै लुम्बिनी आएका गुटेरेसले अशोक स्तम्भ अगाडि पत्रकार सम्मेलन गर्दै विश्व शान्तिको कामना गरेका थिए । रुस र युक्रेनबिच युद्ध चलिरहेको बेला उनले शान्ति भूमि लुम्बिनीबाट गरेको आह्वानले विश्वव्यापी चर्चा पायो, जसले लुम्बिनीको महत्त्व थप दर्शाएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनी आउने विदेशी राजदूत एवम् अन्य उच्च पदस्थ व्यक्तिलाई लुम्बिनीको विकास र संरक्षणका साथै भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि आग्रह गर्दै आएका छन् ।

लुम्बिनीमा विदेशी पर्यटक भित्र्याउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित हुनुपर्ने भन्दै उपाध्यक्ष लामाले, चीन, भुटान र श्रीलङ्काजस्ता देशबाट सिधै अन्तर्राष्ट्रिय उडान गरेर बुद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन सकिने बताउँदै आएका छन् ।