विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याइने

मूलखबर संवाददाता

सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कुल विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० किलोवाट प्रतिघण्टा पुर्‍याइने बताएको छ ।

सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसका लागि आवश्यक सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने सरकारले बताएको छ ।

हाल कुल विद्युत् उत्पादन क्षमता २ हजार ४० मेगावाट पुगेकोमा आउँदो एक वर्षमा दोब्बर क्षमता बराबरको विद्युत् उत्पादन बढाउने सरकारले जनाएको छ ।

घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणामा अगाडि बढाइने सरकारले बताएको छ । राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका विद्युत् प्रसारण लाइनको सुदृढीकरण, विस्तार एवम् स्तरोन्नति गर्दै हेटौँडा–ढल्केवर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गरिने सरकारले जनाएको छ ।

सिँचाइ, कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत्मा सहुलियत प्रदान गर्ने पुरानै नीतिलाई यो सरकार ले पनि निरन्तरता दिएको छ ।