त्रिविको जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन

मूलखबर संवाददाता
काठमाडौं, १ जेठ
त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ । एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेका छन् । २०७३ देखि नै स्थानीय ठेकेदार कवीन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा थुपार्ने गरेको प्रयोगशालाका कर्मचारी बताउँछन् ।
उपकुलपति, रजिस्ट्रार, रेक्टर कार्यालय र प्रहरी वृत्त कीर्तिपुरबाट मात्र एक किमि दूरीभित्र रहेको उक्त जग्गा हडपिएको सम्बन्धमा कसैले चासो दिएको छैन ।

एग्रो एन्ड बायोलोजी प्रयोगशालाको भवन बने पनि डिपोका कारण त्यहाँ कार्यालय स्थापना गर्न नसकेको प्रमुख सहप्राध्यापक गिरीराज त्रिपाठी बताउँछन् । ‘प्रयोगशाला भवनसँगै ढुंगा, बालुवा थुपारेकाले बाटोसमेत छैन, आवतजावतमै समस्या छ,’ उनले भने, ‘पानीको लाइन ल्याउनसमेत ठेकेदारले दिएका छैनन् ।’ डिपोका कारण कार्यालय सञ्चालनमा बाधा परेपछि प्रयोगशालाले त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखामा उजुरी दिएको छ ।

अनधिकृत रूपमा विश्वविद्यालयको जग्गा हडपेर डिपो सञ्चालन गरेको पाइएपछि हटाइदिन महाशाखामा उजुरी दिएको सहप्राध्यापक त्रिपाठीले बताए । ‘डिपो नहटेसम्म प्रयोगशाला सञ्चालन गर्न सकिने स्थिति छैन,’ उनले भने । डिपोले प्रयोगशालातर्फ प्रवेश गर्ने मूल सडकसहित चारैतर्फ जस्तापाताको घेराबारा लगाएको छ ।

जहाँ टिपर, एक्स्काभेटर, ट्रक मात्र आउजाउ गर्छन् । सामान्य प्रशासन महाशाखाका प्रमुख राजुकुमार श्रेष्ठले प्रयोगशालाको पत्रअनुसार विश्वविद्यालयको जग्गा खाली गरिदिन ठेकेदारलाई पत्र पठाएको बताए । ‘उक्त जग्गा भोगचलन गर्न विश्वविद्यालयले दिएको होइन, अनधिकृत रूपमा प्रयोग गरेको पाइएपछि हटाउन भनेका छौं,’ उनले भने ।

यसअघि पनि पटक–पटक ठेकेदारलाई जग्गा खाली गर्न निर्देशन दिएको तर उनले अटेरी गर्दै आएको रजिस्ट्रार कार्यालयका कर्मचारी बताउँछन् । ‘मौखिक रूपमा जग्गा खाली गर्न गरेको आग्रह अटेर गरेपछि लिखित रूपमै पत्र पठाएका छौं,’ श्रेष्ठले भने । याे खबर कान्तिपुरमा छ ।