राजतन्त्रकालमा भन्दा सयौँ गुणा बढी विकास भएको छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणा बढी विकास भएको बताउनुभएको छ ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को सोमबार शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो ।
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदीलगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उहाँले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।