स्वयम्भूको बुद्ध जयन्ती मेला महानगरले व्यवस्थित गर्ने

मूलखबर संवाददाता
काठमाडौं

बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख पूर्णिमा मेलालाई यस वर्ष व्यवस्थित बनाइने भएको छ ।
काठमाडौँ महानगरपालिकाले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिसँग समन्वय गरी आर्थिक सहयोग तथा भीड व्यवस्थापन गर्ने भएको हो । आगामी जेठ १० गते वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती परेको छ ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गर्न लागेको काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

यसवर्ष महायानी धर्मावलम्बीले साकादावा पर्व सोही दिन मनाउने भएकाले दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । महायानी परम्पराअनुसार साकादावा पर्वलाई पवित्र महिनाका रुपमा लिइन्छ ।