सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि शुरुहुने

मूलखबर संवाददाता
काठमाडौं

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अघिल्ला वर्षहरुमा बजेट अधिवेशनकै बेलामा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तबारे हिउँदे अधिवेशनमै छलफल भइसकेको छ ।

सङ्घीय संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । सभामुख घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका मुख्य पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको भन्दै यसका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभएको छ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।