कसैको प्रभावमा करका दर निर्धारण गरिने छैन : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं

अर्थमन्त्री वर्षमान पुनले कसैको प्रभावमा करका दर निर्धारण नगरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘प्रिबजेट राउन्ड टेबुल’ कार्यक्रममा उहाँले औचित्य पुष्टि हुने गरी करका दर निर्धारण गरिने बताउनुभयो । “तीन तहले नै बनाएर करका नयाँ दर निर्धारण गर्नुको कारण समेत खुलाएर राख्छौँ,” उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन हुने पनि उहाँले जानकारी दिनुभयो । सुधार मात्रले अहिलेको अर्थतन्त्रको समस्या सम्बोधन हुन नसक्ने भएकाले रूपान्तरण नै गर्ने गरी बजेट निर्माण गर्ने सोचमा आफू रहेको उहाँको भनाइ थियो । “कतिपय साथीले समस्या समाधानका लागि सुधारको कुरा गर्नुभएको छ तर त्यतिले मात्र पुग्दैन कि जस्तो मलाई लागेको छ,” उहाँले भन्नुभयो, “कतिपय क्षेत्रमा रूपान्तरणकै खाँचो छ ।”

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेतर्फ पनि ध्यान दिने अर्थमन्त्री पुनले बताउनुभयो । यसमा निजी क्षेत्रको पनि साथ आवश्यक हुने उहाँको भनाइ थियो । मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उहाँको भनाइ छ । वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको उहाँले बताउनुभयो ।