मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मूलखबर संवाददाता
काठमाडौं

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको भन्दै १२ जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

जलेश्वरका मेयर सोनार, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन र वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झाविरूद्ध मुद्दा दायर भएको हो।

प्रवक्ता घिमिरेका अनुसार जलेश्वर वडा नम्बर १ स्थित हाटबजारमा गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

जलेश्वर नगरबाट आर्थिक वर्ष २०७९/०८० मा बरूणसर पोखरी नजिकै रहेको बजार क्षेत्रभित्र पिपिसी ढलान गरिएको थियो।

उक्त ढलान गर्दा योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी काम गरेको भनेर झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश गरेको अख्तियारले जनाएको छ।

यसरी उनीहरूले ५ लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उनीहरूविरूद्ध अख्तियारले उक्त रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना गर्न मागदाबी गरेको छ।