पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लेखा व्यवसायीको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको उहाँले बताउनुभयो । कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शीता नै रहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुने बताउनुभयो ।

विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाट सम्भव हुने बताउनुभयो । उहाँले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहीलाई सही र गलतलाई गलत भनि स्पष्ट हिसाव हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज नहुने बताउनुभयो ।

उहाँले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको बताउनुभयो ।