कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन गठबन्धनको माग

मूलखबर संवाददाता
काठमाडौं

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पदमा बस्ने कानुनी हैसियत गुमाएको भन्दै गठबन्धन दल एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख परशुराम खापुङसंग माग गरेका छन् ।

बुधबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले प्रदेश प्रमुखलाई पत्र बुझाउदै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

प्रदेश प्रमुखलाई बुझाएको पत्रमा २०८० साल आश्विन २७ गते नियुक्त भएका कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेका एमाले र माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार अल्पमतमा परेको र विश्वासको मत समेत नलिएकाले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

बुधबार नै कोशी प्रदेशसभा सचिवालयले नेकपा एमाले र माओवादी केन्द्रलाई मुख्यमन्त्रीका तर्फबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव नआएको जानकारी गराएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एमाले र माओवादी संसदीय दलका नेताहरू पत्र लेख्दै सो कुराको जानकारी दिएका थिए ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रकुमार आङ्बोलाई लेखिएको पत्रमा कोशी प्रदेशसभा नियमावलीको नियम १२८ बमोजिम मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव यस सचिवालयमा दर्ता नभएको जानकारी गराइएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कानुनी परामर्शपछि उचित निर्णय दिने जनाएका छन् ।