संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छः मन्त्री शर्मा

मूलखबर संवाददाता
काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्नुहुँदै उहाँले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

मन्त्री शर्माले अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरुले त्यस्तो नभएको प्रस्ट्याउनुहुँदै प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनेगरी ल्याइएको बताउनुभयो । उहाँले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा नै राम्रो कुरा हो भन्ने कुरा हो जस्तो लाग्छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण यो हुनुपर्छ भन्ने अर्थ नलागोस् । देशको प्रधानमन्त्री भनेको पद हो । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । त्यसकारणले त्यो विषयमा के गर्ने भन्ने गम्भीरतापूर्वक हामी आफूले पनि सोचौँ ।’’

उहाँले विधेयकलाई समिति र संसदले सहमति पूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पार्नुभयो ।