उच्च रक्तचाप र मुटुका बिरामीले यौन जीवन कसरी सहज बनाउने ?

मूलखबर संवाददाता
काठमाडौं

यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ?

यो दुविधा हुनु स्वभाविक हो । किनकि जति खुलेर अन्य स्वास्थ्य समस्याको चर्चा गरिन्छ, त्यति यौनबारे गरिंदैन । चिकित्सकसँग पनि संकोचका कारण बिरामीले यसबारे खुलेर प्रश्न सोध्दैनन् । जसले गर्दा यौन जीवनमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुनसक्छ ।

सुरक्षित यौन जीवनका लागि चार सर्त – Online Khabar

 

मुटुमा समस्या भएपछि यौन जीवनमा असर पार्छ ?

शारीरिक तथा मानसिक अवस्था, उपयुक्त व्यक्ति तथा वातावरणजस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन् । तर यौन आधारभूत आवश्यकता नै हो र यसलाई कुनै रोगमा पनि पूर्ण वर्जित विषय मानिंदैन ।
मुटुका समस्या भएका व्यक्तिमा पनि यौनक्रिया गर्नु सुरक्षित मानिन्छ ।

यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल बढ्ने तथा रक्तचाप पनि केही बढ्ने भएकाले मुटुलाई थप दबाब चाहिं पर्न सक्छ । यही कारण मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ । तर यौन सम्पर्कबाट टाढै बस्नुपर्छ भन्ने चाहिं छैन ।

यदि सामान्य हिंड्डुल गर्दा वा भर्‍याङ चढ्दा छाती भारी हुन्छ भने यौन सम्पर्कको समयमा हृदयघातको केही जोखिम हुनसक्छ । यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग परीक्षण गराई उचित उपचार गर्ने र सावधानीका उपायबारे परामर्श गरी यौन क्रियाकलाप गर्न सकिन्छ ।

स्वास्थ्य पेजहृदयघातपछि कसरी सहज बनाउने यौन जीवन ? - स्वास्थ्य पेज

हृदयघातपछिको अवस्था

हृदयघात भएको सुरुको दुई हप्तासम्म बढी शारीरिक परिश्रम गर्नु राम्रो हुँदैन । त्यसपछि जब हिंड्डुल गर्दा छाती भारी नहुने तथा स्वयंलाई मध्यम तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ, तब यौन सम्बन्ध राख्न मिल्छ । तर यौनसम्बन्ध राख्न सक्ने र नसक्ने अवस्था व्यक्तिअनुसार फरक पर्न सक्छ ।

हृदयघातपछि कसरी सहज बनाउने यौन जीवन ?

-आफ्नो रुचि र अवस्थाबारेमा श्रीमान श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्नुपर्छ ।

-एकअर्काको अवस्था बुझेर त्यसअनुसार श्रीमान श्रीमतीमध्ये स्वस्थ्य व्यक्तिले मद्दत गर्नुपर्छ ।

-खाना खानेबित्तिकै यौन सम्पर्क गर्नुहुँदैन ।

-मनबाट त्रास हटाउनुपर्छ । कहिलेकाहीं सहवास गर्ने क्रममै मुटुमा समस्या देखिइपो हाल्छ कि भनेर डराउँदा यौन आनन्द लिन सकिंदैन ।

-सहवास गर्दागर्दै छाती भारी भएमा तुरुन्त क्रियाकलाप रोकेर ‘नाइट्रेट’ समूहको औषधि सेवन गर्नुपर्ने हुनसक्छ । जुन कुरा चिकित्सकले परामर्शको क्रममा बताएका हुनसक्छन् ।

-केही असहज लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

उच्च रक्तचाप र मुटुजन्य रोगमा यौनको प्रभाव

उच्च रक्तचाप तथा मुटुजन्य रोग भएका व्यक्तिमा यौनमा रुचि कम हुनु तथा पुरुषको लिङ्ग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म रहन नसक्ने हुनसक्छ । महिलामा पनि रुचि कम हुने तथा योनी सुख्खा भई बढी पीडा हुनसक्छ ।

कारण

जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरुमा बोसोजन्य पदार्थ जम्मा भई साँघुरिन्छ, सोही अवस्था लिङ्ग तथा योनीको रक्तनलीहरु पनि रक्तचाप बढेमा साँघुरिन्छ । र, रक्त प्रवाह घट्न जान्छ, जसले गर्दा दुवैमा यौन रुचि घट्न सक्छ ।

कहिलेकाहीं मुटु तथा उच्च रक्तचापका बिरामीले कुनै कारणबिना पनि आफूलाई कमजोर ठानी आत्मबल कमजोर बनाएर यौनमा अग्रसरता नदेखाउने तथा पूर्ण सन्तुष्टि प्राप्त गर्न नसक्ने हुन्छन् । जुन अवस्थालाई मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्छ ।

त्यस्तै, मुटु तथा उच्च रक्तचापसम्बन्धी केही औषधिले पनि यौन कार्यमा प्रभाव पार्छ । उच्च रक्तचापका लागि चलाइने ‘थायजाइड’ तथा ‘बिटा ब्लकर’ समूहका औषधिले यौन रुचि कम गराउने, चरम सुख नहुने, लिङ्गको उत्तेजनामा कमी ल्याउन सक्छ ।

यी औषधि सेवन गर्ने युवा तथा प्रौढ उमेरका करिब १० प्रतिशतमा यस्तो असर पाइएको अध्ययनहरूले देखाएका छन् । त्यस्तै, मुटुरोगका लागि चलाइने ‘डिजोक्सिन’ तथा ‘स्पारोनोल्याक्टोन’जस्ता ओषधिले पनि यौन इच्छा कम गर्ने तथा पुरुषको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छ ।

मुटुको चालमा समस्या भएकाहरूमा पनि यौन इच्छा कमी तथा यौन सन्तुष्टि नमिल्न सक्छ । यसबाहेक उच्च रक्तचाप बढ्ने विभिन्न हार्मोनसँग सम्बन्धित अवस्था, मिर्गौला रोग तथा लामो समयदेखि रहेको अनियन्त्रित मधुमेह लगायत रोगमा यौन इच्छा घट्न सक्छ ।

यौन जीवन – Online Khabar

समाधान के त ?

लिङ्गको उत्तेजना बढाउन भियग्रा लगायतका औषधि सेवन गर्न सकिन्छ । तर यस्तो औषधि सेवन गर्नु अगाडि चिकित्सकको परामर्श लिनुपर्छ ।

उच्च रक्तचापका लागि चलाइने ‘थायजाइड’ तथा ‘बिटा ब्लकर’ समूहका औषधि र मुटुरोगका लागि चलाइने ‘डिजोक्सिन’ तथा ‘स्पारोनोल्याक्टोन’जस्ता औषधिको सट्टा व्यक्तिको उमेर तथा अवस्था हेरेर चिकित्सकको सल्लाहमा वैकल्पिक औषधि प्रयोग गर्न सकिन्छ ।

‘नाइट्रेट’ समूहको औषधि सेवन गरिरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुनसक्छ । त्यो बाहेक रक्तचाप धेरै बढी वा कम भएका व्यक्ति, भर्खरै हदयघात भएका बिरामी, मिर्गौला तथा कलेजोसम्बन्धी रोग भएकाले पनि भियग्रा सेवन गर्नु हुँदैन ।