मूलपानी क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवको आयोजना

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशाला  अत्याधुनिक रुपमा निर्माण हुनेभएको छ ।

डिजाइन अनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानका रूपमा निर्माण गरिने छ । यसको दर्शक क्षमता २० हजार ८७८ रहने छ । यो स्टेडियमको मुख्य विशेषता मैदानमा जडान गरिने ‘सब एयर’ प्रविधि हुनेछ । पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुने छ ।

डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान दुवै छन् । रङ्गशालामा तीन तलाको अन्डरग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थललगायतका संरचना छन् । हालको माथिल्लो मूलपानी ग्राउन्ड प्रशिक्षण मैदानका रूपमा रहने छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यो वर्ष नै यो मैदानका लागि ५० करोडदेखि एक अर्ब रुपियाँसम्मको बजेट निकासा हुने सम्भावना रहेको बताउनुभयो । खेलकुदको मेगा प्रोजेक्टका रूपमा रहेको मूलपानी क्रिकेट मैदानको डिजाइन अनुसारको सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्माणका लागि सात अर्ब ३४ करोड ७० लाख रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

मूलपानी क्रिकेट रङ्गशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ ।