जनपक्षीय नीति कार्यक्रम र बजेट ल्याउन माओवादी सांसदहरूकाे सुझाव

मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसदहरूले जनपक्षीय नीति कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री र अर्थमन्त्री लाई सुझाव दिएका छन् ।

पार्टीको संसदीय दलकाे बैठकमा माओवादी सांसदहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन अनन्तलाई साे सुझाव दिएका हुन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीले जनपक्षिय बजेट ल्याउने बताउँदै सरकार ढल्छ कि भन्ने चिन्ता नगर्न र जनताको पक्षमा काम गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरण भत्काउन प्रयासहरू भइरहेको भएतापनि तत्काल केही नहुने बताउनुभएकाे थियाे ।  एकीकृत समाजवादीभित्रको अन्तरविरोधका कारण समीकरण भत्काउने कोसिस भइरहेको छ,’ प्रधानमन्त्रीकाे भनाइ थियो, ‘अहिलेको अवस्थामा समीकरण दायाँबायाँ हुँदैन । अघि बढ्छ ।’ उहाँले प्रमुख प्रतिपक्ष कांग्रेसका केही नेता विभिन्न बहानामा समीकरण भत्काउने खेलमा लागेको  पनि बताउनुभएको थियाे । ‘प्रतिपक्षको काम सत्ता समीकरण भत्काउने परम्पराजस्तो देखियो,’ उहाँको भनाइ थियो ।