इन्टरनेट सेवा अवरुद्ध गरेमा कडा कार्वाही गर्ने दूरसञ्चार प्राधिकरणकाे चेतावनी

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ ।

भारतीय ‘अपस्ट्रिम’ प्रदायक भारतीय ‘एयरटेल’ले नेपालतर्फ पठाउँदै आएको ‘ब्यान्डविथ’को ‘इन्टरनेसनल लिंक’ विच्छेद गरिदिएपछि केही समय सेवा प्रभावित भएको थियो । नेपालका आईएसपीहरूले ९ महिनादेखि ब्यान्डविथ खरिदबापतको करिब ३ अर्ब रुपैयाँ बुझाएका छैनन् ।

विदेशी ‘अपस्ट्रिम’ प्रदायकलाई बुझाउनुपर्ने विदेशी मुद्राको सटहीका लागि सेवा प्रदायकले नियामक नेपाल दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालयको सिफारिसपछि राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । उपभोक्ताबाट अग्रिम संकलन गरेको महसुल कानुनबमोजिम सरकारलाई नबुझाएसम्म विदेशी मुद्रा सटही सुविधामा सहजीकरण नगर्ने प्राधिकरणले प्रस्ट्याइ सकेको छ ।

इन्टरनेटजस्तो अत्यावश्यक सेवामा अनुमतिपत्रको सर्तबमोजिम भरपर्दो र गुणस्तरीय सेवाको सुनिश्चित गर्न प्राधिकरणले भनेको छ । उपभोक्तालाई निर्बाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशनसँगै सेवा अवरुद्ध गरे कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी प्राधिकरणको छ ।

इन्टरनेट सेवा प्रदायकहरू भने फेरि कुनै पनि बेला इन्टरनेट नकाटिएला भन्ने सुनिश्चितता नभएको बताउँछन् । याे खबर कान्तिपुरमा छ ।