समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा

मूलखबर संवाददाता
काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताउनुभयो । मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको दावी गर्नुभयो ।

निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिव एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताउनुभयो । उहाँले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्न सके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने प्रष्ट पार्नुभयो ।