चीनले नेपालीलाई भिसा शुल्क नलिने

मूलखबर संवाददाता
काठमाडौं,२० बैसाख

छिमेकी मित्रराष्ट्र मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो ।

नेपाल र चीनबिचको मित्रता प्रवर्धन गर्न तथा कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन साधारणतर्फको भिसा शुल्क नलाग्ने बनाएको दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत छङ सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिनुभएको छ ।

अध्यागमन विभागका अनुसार नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने चीन सरकारको निर्णयले आर्थिक व्यापार, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा नेपालीलाई फाइदा पुग्ने छ । यस निर्णयले नेपालबाट चीनमा पढ्न जाने विद्यार्थी, व्यवसायी र नेपाली पर्यटकको सङ्ख्यामा समेत बढोत्तरी हुने देखिन्छ । चीनले गत महिना मात्रै स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो ।

यसअघि चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित भिसा शुल्क निःशुल्क गरिए पनि एक्सप्रेस–१ भिसाका लागि चार हजार र एक्प्रेस–२ भिसाका लागि दुई हजार सात सय रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै समूहतर्फ एक्सप्रेस–१ को दुई हजार रुपियाँ र एक्प्रेस–२ को एक हजार ३५० रुपियाँ तिर्नुपर्ने हुन्छ ।

नेपालबाट २०७२ चैत १२ गतेको मन्त्रीपरिषद्को बैठकले चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिने निर्णय गरेको थियो ।