आगलागीबाट काभ्रेमा १५ घर र १ विद्यालय जले

मूलखबर संवाददाता
काभ्रे, १९ बैसाख

काभ्रेमा वनमा लागेको आगो बस्ती पस्दा १५ घर जलेका छन् । रोशी गाउँपालिकाको सामुदायिक वनमा लागेको आगो मंगलबार बस्ती पस्दा १५ घर जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार १५ घर, १० गोठ र आठ शौचालय जलेका छन् । बस्तीमा लागेको आगो नेपाली सेना, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । तर, जंगलको डढेलो भने नियन्त्रणमा आएको छैन ।

घरमा आगलागी भएपछि स्थानीय बासिन्दा आफन्तको घरमा शरण लिन पुगेका छन् । गाउँपालिकाले तत्कालका लागि चाउचाउ, चिउरालगायत खानेकुराको व्यवस्था गरेको छ । बुधबार जिल्ला विपत् व्यवस्थापन समितिको टोलीसहित गएर खाद्यान्न र अस्थायी बसोवासको जोहो गरिने पालिका अध्यक्ष लामाले बताए ।

त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका– ३, सौरेमा पनि आगलागी भएको छ । आगलागीबाट एक घर र एउटा गोठ जलेको छ । मंगलबार बिहान करिब ८ बजेदेखि चुनिखोलाबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । पानी पर्याप्त नभएको र आगलागी ठूलो क्षेत्रमा फैलिएकाले नियन्त्रण कठिन भएको वडाध्यक्ष सागर लामाले बताए ।

सोमबार खानीखोला– ३ जुरेमा भएको आगलागीबाट बृहत् खानेपानीको पाइप जलेको थियो । जसकारण खानेपानीको अभाव भएको छ । आगलागीले भृकुटी माविको भवनमा पनि क्षति पुर्‍याएको खबर नयाँ पत्रिकामा छ ।