इलाम-२ मा गठबन्धनबाट एमालेका सुहाङ नेम्वाङ विजयी, कांग्रेस दाेस्राे, रास्वपा चाैंथाे

मूलखबर संवाददाता
काठमाडौं,

इलाम २ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान साढे ४ बजे सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार माओवादीसहितकाे गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् ।

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेस उमेदवार खड्का सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर पराजित भएका थिए । यसपटक खड्का नेम्वाङ पुत्र सुहाङसँग ५ हजार ८ सय ३० मतान्तरले पराजित भएका छन् । यसअघि खड्काले माओवादीकाे गठबन्धनमा निर्वाचन लडेका थिए भने यसपटक सुहाङले माओवादी गठबन्धनमा विजय हाँसिल गरेका हुन् ।

निर्वाचनमा तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उमेदवार डेकेन्द्र थगिम लिम्बु आएका छन् । उनले ११ हजार ४५७ मत पाएका छन् ।

त्यसैगरी  राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाएर चाैथाे स्थानमा पुगेका छन् । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो दललाई धिक्कार्दै इलाममा जित हासिल गर्ने घाेषणाका साथ माओवादी परित्याग गरि रास्वपामा गएर उमेदवार बनेका थिए ।