बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो

मूलखबर संवाददाता
काठमाडौं

बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ ।

आइतबार भएको निर्वाचनमा जिल्लाकोे प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका आइतबार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।

मुख्य निर्वाचन कार्यालयले आज बिहान ११ बजे सर्बदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ । आज बिहान ११ बजे सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महलिा १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।