
मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान ७ बजे सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल उम्मेदवार सहित सरोकारवालालाई ७ बजे सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो‘७ बजेको बैठक पछि सबै प्रक्रिया पुरा गरेर गणना सुरु गर्न ११ बज्ने जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले मतगणना स्थलमा सबै मतपेटिका आई पुगेको र उच्च सुरक्षा साथ मत पेटिका राखिएको जानकारी दिनु भयो । इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा मत गणना हुने छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तार बेरा गरी सिसी टिभी जडान गरिएको छ ।
इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गर्नु भएको छ । इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनु भएको छ ।
