आजबाट तेस्रो लगानी सम्मेलन, यस्तो छ तयारी,

मूलखबर संवाददाता
काठमाडौं, १६ बैसाख २०८१

नेपालकाे दिर्घकालिन विकासकाे लागि महत्त्वपूर्ण मानिएकाे बहुप्रतिक्षित तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

आजबाट साेल्टी हाेटलमा शुरू हुने सम्मेलनमा सरकारले नेपालमा रहेको लगानीको सम्भावना र अवसरको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोल्टी होटेलमा हुने सम्मेलनको उद्घाटन गर्नु हुनेछ। उद्घाटन सत्रलाई सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्बोधन गर्नेछन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

सम्मेलनमा विदेशबाट ५५ मुलुकका आठ सय र नेपालका एक हजार गरी एक हजार आठ सय प्रतिनिधि सहभागी हुँदै छन् । सरकारी र निजी क्षेत्रका समेत गरी एक सय ५४ परियोजना सम्मेलनको सोकेसमा राखिएका छन् ।

यस्तो छ तयारी

आयोजनाको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । ‘सबै विदेशी प्रतिनिधि आइसक्नुभएको छ, जी टु जी र बी टु बीबीच हुने समझदारीका खाकालाई पूर्ण रूप दिने काम भइरहेको छ,’ उनले भने, ‘सम्मेलनको पहिलो दिन नेपालमा भएको सोकेस परियोजनासहित लगानीको सम्भावना र अवसर प्रस्तुत गर्दै लगानीका लागि आह्वान गर्नेछौँ, हाम्रा प्रतिबद्धता सुनाउँदै लगानीकर्ता र साझेदारका कुरा पनि सुन्नेछौँ ।’

उद्घाटन सत्रमा विदेशी प्रमुख वक्तामा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयता नियोग (सिआइडिसिए)का अध्यक्ष लुवो चाओहुई, भारतको उद्योग तथा वाणिज्यमन्त्री पियुष गोयल, बेलायती राज्यमन्त्रीद्वय आन मेरी ट्रिभेलियन र एन्ड्र्यु मिचेल र अमेरिकी सहायक विदेशमन्त्री डोलान्ड लु छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलन महानिर्देशक म्याडम रेबेक ग्रिनस्पान, बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका क्षेत्रीय निर्देशक बेन मेलर, विश्व बैंक ग्रुपका उपाध्यक्ष मार्टिन रेजर, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ याङ र एसियाली पूर्वाधार लगानी बैंकका कार्यवाहक उपाध्यक्ष राजत मिश्र विदेशी प्रमुख वक्ता छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवस्ताव, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सन, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष जस्मिन उद्दिन, अमेरिकी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केसप, भारतीय उद्योग परिसंघका प्रमुख प्रतिनिधि सुप्रतिम दत्त र सतलज जलविद्युत् निगम (एसजेभिएन)का अध्यक्ष सुशील शर्माले पनि प्रमुख वक्ताकै रूपमा सम्बोधन गर्दै छन् । त्यस्तै, नेपालका निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सम्बोधन गर्दै छन् ।