कतारका राजा काठमाडौं आइपुगे, विमानस्थलमा गरियो भव्य स्वागत

मूलखबर संवाददाता
काठमाडौं, ११ बैसाख ।

विश्वको धनी मुलकको अग्रपंक्तिमा पर्ने कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको संघीय राजधानी काठमाडौं आइपुनुभएको छ । उहाँ आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुनुभएको हो । उहाँलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले भव्य स्वागत गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आउनुभएको हो ।

अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ ।