इयुले नेपालको आकाशमाथि लगाएको उडान प्रतिबन्ध हटाउने प्रयास भइरहेको छ : पर्यटनमन्त्री तामाङ

मूलखबर संवाददाता
काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले युरोपेली संघ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिनुभएकाे छ ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जानकारी दिँदै मन्त्री तामाङले भन्नुभयाे- ‘नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।’

उहाँले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभएकाे छ ।

उहाँले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताउनुभयाे । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको जानकारी दिनुभयो  ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।