लुम्बिनी प्रदेशको ३ सय स्थानमा डढेलाे, कराेडाैं क्षति, बन्यजन्तु पनि बसाइँ सर्दै

मूलखबर संवाददाता
काठमाडौं

आइतबारसम्म लुम्बिनी प्रदेशका करिब ३ सय स्थानमा डढेलोले ११ हजार ४ सय ४८ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रदेशस्थित वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सूचना अधिकारी डिलाराम पौडेलले बताएका छन् ।

आगलागीमा सबैभन्दा बढी गुल्मीमा क्षति भएको र प्रदेशका सबै जिल्लाको विवरण संकलन भइरहेको उनले बताए । प्रदेशअन्तर्गतका १४ वटा वन डिभिजनमा डढेलो लाग्न सक्ने र लागिरहेका स्थानमा कर्मचारी खटिएर नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

गहुँको नल जलाउन लगाएको आगो हावाहुरीका कारण बस्तीमा पस्दा शनिबार रूपन्देहीको रोहिणी गाउँपालिका–४, ५ र ६ का ५० घरमा क्षति पुगेको छ । स्थानीयको बस्तुभाउ, अन्न, लत्ताकपडा र अन्य सामान जलेर नष्ट भएका छन् ।

गुल्मीका विभिन्न स्थानमा तीन दिनदेखि डढेलो फैलिएको छ । इस्मा–१ मा डढेलो निभाउने क्रममा १९ वर्षीय हिमाल राना र मुसिकोट–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हातखुट्टा र अनुहार जलेको छ भने पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार आगलागीबाट ४३ घरगोठ नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि डढेलो नियन्त्रणमा आएको छैन ।