वर्तमान सत्ता समिकरण राजनीतिक समिकरण हो, टुट्दैन : प्रधानमन्त्री प्रचण्ड

मूलखबर संवाददाता
धनगढी, ९ बैसाख ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बाहिर चलेका हल्लाका पछाडि नलाग्न आग्रह गर्दै सत्ता समीकरण पुरै समयावधि जाने बताउनु भएको हो ।

सुदुरपश्चिमममा सरकार निर्माणको लागि कसरत जारी रहेको बेला उहाँले प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको बताउनुहुँदै अव प्रदेश सरकार बलियो भएर अघि बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरण राजनीतिक समिकिरण भएको बताउनुभएको छ । उहाँले अहिलेको समिकरणलाई वामपंथीको मात्रै समिकिरण वा गठबन्धन भन्न नमिल्ने बताउनुभयो । उहाँले यो समिकरण वामपन्थी र गैरवामपन्थी दलहरुको भएको बताउनु भयो। अहिले वाम एकता भन्नु सही पनि छैन, वामपन्थी समीकरण भनेर सत्ता समीकरण गरिएको पनि होइन, यो राजनीति समीकरण मात्र हो, राम्रो काम हुँदै गयो, समझदारी बन्दै गयो भने वामपन्थी एकताको सम्भावना पनि छ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कतारका राजाको नेपाल भ्रमण, लगानी सम्मेलन, ऐन संशोधनको तयारीमा सरकार जुटेको बताउनु भयो । उहाँले आगामी बजेट नयाँ तरिकाले ल्याउने गरि सरकार लागिपरेको बताउनुभयो ।