नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : नयाँ जोश, उमङ्ग र उत्साह लिएर कर्मक्षेत्रमा जुटौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँँ वर्ष २०८१ को अवसरमा शुभकामना दिँदै नयाँ जोश, उमङ्ग र उत्साह लिएर कर्मक्षेत्रमा जुट्न अपील गर्नुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार विहान नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु जरुरी भएको बताउनुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ ः सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि।सं। २०८१ का मूल जिम्मेवारी हुन् । यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
सन्देशको पूर्ण पाठ
विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षको सुरूआतसँगै हामी सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु । यस सुखद अवसरमा विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन हार्दिक आह्वान गर्दछु ।
सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धी, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धी हुन् ।
सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि।सं। २०८१ का मूल जिम्मेवारी हुन् । यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरि लक्ष्य हो । यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धी र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
१ वैशाख २०८१
नेपाल संवत् ११४४ चौलाथ्वः ५, शनिबार