लुम्बिनी प्रदेश मुख्यमन्त्री महराले पाए संसदको विश्वास, ल्याए ४८ मत

मूलखबर संवाददाता
दाङ, ३० चैत ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले संसदबाट विश्वासको मत पाएका छन् । माओवादी केन्द्रका सांसदसमेत रहेका प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार भएको निर्वाचनमा संसदबाट विश्वासको मत प्राप्त गरेका हुन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले मतको पक्षमा ४८ सांसदको मत पाएका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत पाएका हुन् । भने उनको विपक्षमा कांग्रेसका कांग्रेसका २७ र जनमोर्चाका १ सांसदले मत दिएका थिए । त्यसैगरी राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए ।