राप्रपाकाे प्रदर्शनमा झडप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्जसमेत गरेको छ ।
मङ्गलबार काठमाडौँ भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मङ्गलबार काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरेको सो पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
प्रहरीले पानीको फोहोरा हानेपछि राप्रपाको प्रदर्शन तितरबितर भएको छ ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा दिएको छ ।