लमजुङ महाेत्सव शुरू, राष्ट्रपति पाैडेलद्वारा उदघाटन

मूलखबर संवाददाता
लमजुङ, २३ चैत

लमजुङ सदरमुकाम बेंसीसहरमा आठौं लमजुङ महोत्सव  शुक्रबारदेखि सुरु भएको छ। उद्योग वाणिज्य संघ लमजुङको आयोजनामा भएको महाेत्सवकाे उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलले गरेका छन् ।

लमजुङ भ्रमण वर्ष २०८१ को उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता अर्थतन्त्रलाई चलायमान, गतिशील र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पूरा गर्नु रहेको बताए ।

‘मुलुकमा उत्पादन, रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्छ । त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अनिबार्य छ,’ उनले भने, ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौं । जुन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो ।’

राष्ट्रपति पाैडेलले देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले उक्त क्षेत्रका धर्म, कला, सस्कृंति, परम्परा संरक्षण साथै सम्वर्द्धन तथा त्यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवर्द्धन, औद्योगिक, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

साे कार्यक्रममा विशेष अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य एवम् नेतृ उर्मिला माझी पाैडेल रहेकी थिइन् । उनले लमजुङ प्राकृतिक रूपले मनाेरम, सुन्दर र विविधताले भरिएको बताउँदै सबै मिलेर लमजुङको विकास र समृद्धिमा जुट्नुपर्ने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसदहरू, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र स्थानिय जनताको उपस्थिति रहेको थियाे ।