विदेशी मुद्रा सञ्चिति २१.७ प्रतिशतले बढ्याे

मूलखबर संवाददाता
काठमाडौं, २३ चैत

आठ महिनामा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तको तुलनामा यो २१.७ प्रतिशतले बढेको हो ।

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत फागुन मसान्तसम्म आइपुग्दा यो बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । गत फागुन मसान्तसम्ममा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

गत फागुनसम्मको विदेशी मुद्रा सञ्चितिले १४.८ महिनाका लागि वस्तु र १२.४ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको रहेको खबर कान्तिपुरमा छ ।