
तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, को को परे ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनालाई प्रतिवादी बनाइ आरोप पत्र दर्ता गराएको हो ।
मुद्दा दर्ता भएकोबारे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताउनुभयो । उहाँले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताउनुभयो । जसमा २४ जना नेपाली र आठ जना विदेशी रहेको बताउनुभयो । अख्तियारले वाइडबडी खरिदमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ । ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको छ । यसमा ३२ जना प्रतिवादी हुनुहुन्छ । २४ जना नेपालीसहित आठ जना विदेशी गरी ३२ जना प्रतिवादीहरुविरुद्ध आरोप पत्र दर्ता भएको छ । यसको सबै प्रतिवादीहरूलाई समान बिगो कायम गरिएको छ । त्यसमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ ।”
सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरी मुद्दा दर्ता गरिएको छ ।
वाइडबडी भ्रष्टाचार मुद्दामा ३२ जना को को परे ?
निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन का.मु. निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन सुवास रिजाल, तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, तत्कालीन का. मु. निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन का. मु. निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
यसैगरी, विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये प्रेसिडेन्ट, इन्टरनेशनल सप्लाइ चेन, एएआर कोर्पोरेशन, युएसइ एवम् बेलायती नागरिक दीपक शर्मा, हीफ्ली एक्स आइरल्याण्ड लिमिटेडका निर्देशक एवम् जर्मन एभिएसन क्यापिटल जर्मनीका फाइनान्स डिरेक्टर एवम् रोमानिया एण्ड मोल्डोभाका नागरिक ओलेग क्यालिस्ट्रयुले निगमका कर्मचारी तथा पदाधिकारीसँगको मिलेमतोमा योजनाबद्ध रुपले सो भ्रष्टाचार गरेको आरोप लागेको छ।
यस्तै, एएआर इन्टरनेशनल, युएसए र उक्त कम्पनीको मुख्य व्यक्ति जोन एम. होल्म्स्, प्रेसिडेन्ट एण्ड सिइओ, जर्मन एभिएसन क्यापिटल जीएमबीएम र उक्त कम्पनीको मुख्य व्यक्ति एना टोपा, मेनिजिङ डाइरेक्टर, हाइ फ्लाइ ट्रान्सपोर्ट एइरोज् एसए पोर्चुगल र उक्त कम्पनीको मुख्य व्यक्ति पउलो मिरपुरी, प्रेसिडेन्ट, हाइफ्लाइ एक्स आइरल्याण्ड लिमिटेड आइरल्याण्ड र उक्त कम्पनीका मुख्य व्इक्ति गेरल्ड थर्नटन, डिरेक्टर र क्रिस्चियन न्युह्लेन, डिरेक्टर र नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र उत्तः कम्पनीका मुख्य व्यक्ति मार्कस राडब्रच, हेड अफ एभिएसन र राल्फ् स्प्रिङ्गर, सिनियर कन्सल्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगका अनुसार उनीहरुविरुद्ध बिगो रकम एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ असुल हुन मागदाबी गरिएको छ।
