अटिजम सम्बन्धि सन्देशमुलक म्युजिक भिडियो ‘स्वीकार’ सार्वजानिक

मूलखबर संवाददाता
काठमाडौं

अटिजम सम्बन्धि जनचेतना फैलाउने उदेश्यले सन्देशमुलक म्युजिक भिडियो ‘स्वीकार’ सार्वजानिक गरिएको छ । काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता ढंगोलले भिडियो सार्वजानिक गर्नु भएको हो ।

अटिजम प्रभावितहरुको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनु र उनीहरुमा अन्तरनिहित प्रतिभालाई चिन्दै, उनीहरुको विकासमा टेवा पुरयाउने हेतुले विश्व अटिजम सचेतना दिवस, २०२४को अवसरमा सन्देशमुलक म्युजिक भिडियो ‘स्वीकार’ स्टुडियो साउण्ड मिल र अवानी फाउण्डेशन काठमाण्डौंको संयुक्त आयोजनामा सार्वजनिक गरिएको हो ।

समयमै आफ्नो वालवालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यवहारिक रुपमा वुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने हेतुले अटिजम सम्बन्धि सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

अटिजम वालवालिकाको जन्मजातै एउटा बिशिष्ट अवस्था हो । यो कुनै रोग होइन । सामान्यतः दुई वर्षदेखि तिन वर्षको अन्तरालमा वालवालिकालाई अटिजम अएको अभिभावकलाई पहिचान हुन सक्छ । जसमा वालवालिकाले अन्य सामान्य वालवालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् । यो कुरा बिशेषतः वावु आमालाई रामोसंग थाहा हुन्छ तर दुर्भाग्य हाम्रो समाजमा अभिभावक अर्थात बुवा(आमाले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठेरोपनले समयमै स्वीकार गर्न सक्दैनन् भन्ने यस म्युजिक भिडियोले सन्देश दिन खोजेको छ ।

पावका शर्माको अवधारण, नरेश प्रधानको शब्द, पुष्प प्रधानको स्वरमा रहेको म्युजिक भिडियो ‘स्वीकार’मा हरी लम्सालले म्युजिक भरेका छन् । गितमा खगेन्द्र लामिछाने र मेनुका प्रधानको अभिनय रहेको छ । स्वीकार गितका गीतकार नरेश प्रधान आफै मस्तिष्क पक्षाघात बालिकाको अभिभावक हुन् । आफ्नो सन्तानमा देखिएको समस्यालाई नजिकबाट भोगेकाले उनले यस क्षेत्रमा विभिन्न तरिकाले ससचेतनामुलक कार्य गर्दै आएका छन् । तिमीसंग आन्विका अभियानका अभियन्ता नरेश प्रधान र स्टुडियो साउण्ड मिल कि संस्थापक गायिका बुनु श्रेष्ठले विगत केहि वर्ष यता गीतसंगीतको माध्यमबाट सचेतना फैलाउदै आउनु भएकोछ ।

समाजमा जनचेतना फैलाउन यस्तो विषयमा गीत तथा लेखरचनाहरु लेखेर विभिन्न माध्यमहरुमा प्रकाशन र प्रशारण गर्दै आएका छन् ।