कांग्रेसले उमेदवार टुंगो लगाउन बैठक बस्दै
इलाम २ र बझाङमा हुने उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
उमेदवार छनौटकै लागि हिजो बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कार्यसम्पादन समितिले उम्मेदवार टुंगो लगाएपछि दिउँसो ४ बजे अनुमोदनका लागि संसदिय बोर्डको बैठक बस्ने तय भएको छ। उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसमा विवाद छ।
सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावमा शेखर कोइराला –गगन थापा पक्षले असहमति जनाएपछि हिजो बैठक विना निश्कर्ष सकिएको थियो।
इलाम २ का लागि ७ र बझाङ १ का लागि १० जनाको नाम सिफारिस भएको छ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र –२ र बझाङ १ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ।