पुँजीगत खर्च बढाउनुस्, श्राेत नपुगेको भए भन्नुस् : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं, १६ चैत

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताएका छन् ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज शुक्रबार मन्त्रालयमा भएको भेटमा उनलेे बिहीबारसम्म चालू आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेटको ३० प्रतिशत खर्च भएको उल्लेख गर्दै मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए ।

अर्थमन्त्री पुनले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुुँजीगत खर्च बढाउन मन्त्रीहरू र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए ।

‘प्रधानमन्त्रीले स्पष्ट रूपमा हामी सबै मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ मन्त्री पुनले भने, ‘मैले पनि सबै मन्त्रालय र निकायलाई पुँजीगत खर्च बढाउनुस् भनेको छु । स्रोत नपुगेको भए अर्थ मन्त्रालयलाई भन्नुस् ।’

उनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिएका छन् ।
निवर्तमान अर्थमन्त्री डा. महतले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो ।

‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ,’ पुनले भने, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर मैले त्यसो गर्नु उपयुक्त ठानिनँ ।’

सिद्धान्त र प्राथमिकताबारे संघीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको मन्त्री पुनले बताए ।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौंमा हुने विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए । मन्त्री पुनले पूर्व निर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्‍याइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

फरक प्रसङ्गमा मन्त्री पुनले मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत हाल सञ्चालित आयोजना ५ वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए ।