राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, १५ चैत ।

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले उपाध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा रहेकी अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र पेश गर्नुभएको हो ।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । राजीनामा पत्रमा अर्यालले आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।

अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अहिले राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एकीकृत समाजवादीको भागमा पर्ने गरी भागबण्डा र राजनीतिक समिकिरण परिवर्तन भएपछि अर्यालले राजीनामा दिनुभएको हो ।