
साढे २ घण्टा श्रीएअरको जहाज आकाशमै
धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएअरको फ्लाइट नम्बर २२८ खराव मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।
धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो ।
श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको थियो ।
नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।
श्रीएअरकै रनसिंह ठकुल्लाका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने फ्युल थियो, त्यसैले यात्रु आत्तिन जरुरी थिएन । उहाँले सो जहाज ११ः५५ बजे भैरहवाबाट उडेर १२ः४६ मा काठमाडौमा अवतरण भइसकेको बताउनुभयो ।
