
प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद बैठक आव्हान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आव्हान गर्नुभएकाे छ ।
बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ। गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको थियाे ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ। एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो।
यसअघि सत्तापक्षमा हुँदा पनि कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषद्मा थिएन। विपक्षी दलका नेताका रूपमा अब संवैधानिक परिषद्मा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन्।
