नागढुंगा सुरूङमार्ग खन्न आठ मिटरमात्र बाँकी, सञ्चालनमा आउन १३ महिना लाग्ने

मूलखबर संवाददाता
काठमाडौं, १५ चैत

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन ।

आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रोकिएको थियो । यही चैत ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुन सक्ने बताउनुभयो । इन्जिनियर कोइरालाले सुरुङ खन्ने काम तीव्र गतिमा भइरहे पनि सुरुङ छिचोल्न केही दिन ढिला हुन सक्ने बताउनुभयो ।

उहाँका अनुसार निर्माण कम्पनी हाजामा आन्डो कर्पोरेसनका आयोजना प्रमुख केनइची इनोई अहिले जापानमा रहेकाले उहाँ नेपाल फर्केपछि मात्र सुरुङ छिचोल्ने कार्यक्रम तय गरिने छ । उहाँ बिहीबारसम्ममा नेपाल फर्किने बताइएको छ । यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियो । आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो ।

छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा १३ महिना लाग्ने इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । आयोजना अन्तर्गत सुरुङबाहेक विभिन्न १२ वटा संरचना निर्माणाधीन छन् । ती संरचनाको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने सम्भावना छ । यस आयोजना अन्तर्गत सुरुङबाहेक फ्लाइओभर, अन्डरपास, ओभरपास, पुल, बक्स कल्भर्ट गरी १२ वटा थप संरचना निर्माण भइरहेका छन् ।

उहाँका अनुसार ती संरचना निर्माण गर्नुका साथै सुरुङभित्र फायर हाइड्रेन्ट, भेन्टिलेसन, बत्ती, टेलिफोनलगायतका सुरक्षासँग सम्बन्धित विभिन्न उपकरण जडान गर्नुपर्ने हुन्छ । त्यसै गरी सुरुङको लाइनिङ कङ्क्रिट फिनिसिङ, सडक कालोपत्रे, भूक्षय नियन्त्रण, सुरुङको दुवैतिर नियन्त्रण कक्ष निर्माण, सुरुङमार्गको दुवै पोर्टलमा ‘रिफ्रेस सेन्टर’ निर्माण, सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ ।- गाेरखापत्रबाट