चिनियाँ लगानीकर्तालाई नेपालकाे लगानी सम्मेलनमा निम्ता

मूलखबर संवाददाता
काठमाडौं

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिएका छन्। विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार ९ दिने चीन भ्रमणमा निस्केका श्रेष्ठले बेइजिङमा भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन्।

बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै उनले आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे। आगामी महिना नेपालमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा पूर्वलगानी सेमिनारका रुपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए। चिनियाँ लगानीकर्ताहरूलाई नेपालको लगानी सम्मेलनमा सहभागिता जनाउँदै यथोचित लगानी गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देशमार्फत् पनि अपील गरिएको थियो।